नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथापि राणाकाल देखि वर्तमान समयसम्मको भने अध्ययन गर्न सकिन्छ। इतिहासका तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणाशासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक शोषण गरेका थिए र राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइन्छ। तत्कालीन राणाशासक वीरशमशेरले राष्ट्रको ढुकुटी दुरुपयोग गरेर विदेशमा आफ्नो व्यक्तिगत खातामा रकम राखी देशको सम्पत्तिपलायनको सुरुवात गरेको पाइन्छ। तत्पश्चात् राणा शासनकालभरी नै राणा शासकहरूले यसरी राष्ट्रिय सम्पत्ति दुरूपयोग गरी आफ्नो नाममा विदेश पलायन गराउने क्रम चलिरह्यो। यद्यपि राणाशासक देवशमशेरले भने देश विकास र सुधारका उल्लेखनीय कार्यहरू गरेका थिए। तथापि समग्रमा भने राणाशासन देशको आर्थिक उन्नतिमा प्रत्युत्पादक नै रह्यो र राणाकाल अघिको नेपालको आर्थिक भ्रष्टाचारको चर्चालाई छोडेर विश्लेषण गर्दा नेपालमा आर्थिक भ्रष्टाचारको पृष्ठभूमि राणाकालदेखि नै सुरुवात भएको मान्न सकिन्छ।

भ्रष्टाचार संबन्धि नेपाली समाजमा रहेको धारणा
नेपालमा भ्रष्टाचारबारे चर्चा गर्दा आममानिसहरूमा आर्थिक भ्रष्टाचारलाई मात्र जोडेर हेर्ने प्रचलन रहेको पाइन्छ र उनीहरूमा यसका अन्य पक्षहरू जस्तै, नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे चेतनाको विकास कमै मात्र भएको देखिन्छ। हाल आएर समाजको एउटा चेतनशील वर्गले भने नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे पनि सर्वसाधारणलाई जागरूक गराउन थालेको पाइन्छ।

Leave a Reply